दिल्लीमा हातेमालोद्वारा सामुहिक टिका जमारा ग्रहण एवंम् शुभकामना आदानप्रदान

रोशन कुमार यादव (सचिव,हातेमालो) /न्यू दिल्ली,
भारतको राजधानी दिल्लीमा सी.ए अध्यनरत नेपाली विद्यार्थीहरूको  सङ्गठन “हातेमालो नेपाली विद्यार्थी समूहले” नेपालीहरूको महान् चाड बडा दसैँको  अवसरमा शुक्रवार टिका-जमरा एवम् शुभकामना आदान प्रदान सहित प्रसाद वितरण गर्ने कार्यक्रम सम्पन्न गरेको छ। फोनिक सी.ए एकेडमीको प्राङ्गणमा भएको उक्त कार्यकममा  दिल्लीमा रहेको पशुपति नाथ मन्दिरका भट्ट ( नेपाली पुजारी) बाट टीका ,जमरा तथा आशीर्वाद ग्रहण भएको थियो ।

सो कार्यक्रममा  प्रवासमा रहेर पनि आफ्नो संस्कृति, परम्परा एवम् चाडपर्वहरुलाई माया गरिरहने प्रवासी नेपाली विद्यार्थीहरूको, नेपाली सिएहरु,पूर्व सदस्यहरू तथा दिल्लीमा रहेका  सिए विध्यार्थीहरुको उल्लेखनीय सहभागिता थियो।
आफ्नो घर छोडेर सपनाको उडान भर्न आएका सबै प्रवासी विद्यार्थीहरूको निधार खाली नरहोस् र घर जत्तिकै सानिध्यता एवम् उल्लासता मनमा रहोस् भन्ने उदेश्यले आयोजना गरिएको उक्त  कार्यक्रमा  विद्यार्थीहरूले टीका, जमरा एवम् प्रसाद ग्रहण गरेका थिए । उपस्थित नेपाली विद्यार्थीहरूले पारिवारिक माहोलमा एक-अर्कासँग खुसी एवम् शुभकामना आदान प्रदान गरेका थिए ।
कार्यक्रमलाई उत्कृष्ट एवम् सभ्य तरिकाले बढाउन एवम् सम्पन्न गर्न विभिन्न ढङ्गले प्रतक्ष्य-अप्रतक्ष्य सहयोग गर्नु हुने विभिन्न व्यक्ति विशेष, सङ्घ-संस्था, व्यवसायी, र सम्पूर्ण सरोकारवालाहरु प्रति सो कार्यक्रम संयोजक र दशौँ कार्यकालको सह-सहचिव सरफराज हुस्सैनले आभार प्रकट गरेका थिए । हातेमालो परिवारमा आएर धार्मिक सहिस्नुता बढाउने जगमा हिन्दुहरुको भनिने यो पर्वलाई आज नेपालीहरुको पर्व तुल्याउन आफु र हातेमालोको यो पाइलाले अहम भूमिका निर्वाह गरेको सहित संयोजक हुस्सैनले बताए। 
घरबाट टाढा भए पनि कसैको निधार खाली नरहोस् भन्ने आशयले विगतका वर्षहरूमा झैँ बडा दसैँको टिकाको दिन हातेमालो नेपाली विद्यार्थी समूहले टीका-जमरा र प्रसाद ग्रहण कार्यक्रम आयोजना गर्दै आएको छ।कार्यक्रम पुरै अवधि भर हातेमालो नेपाली विद्यार्थी समुहको पेजबाट प्रत्यक्ष प्रसारण गरिएको थियो।